
लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनीयर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन इन्जिनीयर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ ।
पाण्डे संरचनागत इन्जिनीयरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनीयर हुन् । उनले शहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्यांकनका क्षेत्रमा काम गर्दै आएका छन् ।
पाण्डेले काठमाडौँ महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनीयरका रूपमा काम गरेका थिए । महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्यांकन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए ।
त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समेत सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनीयरका रूपमा काम गरेका थिए । त्यहाँ उनले भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालीम प्रदान गर्ने काममा संलग्न थिए ।


