
सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबाट शेयर कारोबारी डराउनुपर्ने कारण छैन : मनाेज ज्ञवाली
काठमाडौं । एकै दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको शेयर खरिद वा बिक्री गर्दैमा त्यस्तो कारोबार अवैध वा शंकास्पद नहुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बताएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले वैध स्रोतबाट आर्जन गरेको रकम लगानी गर्दा डराउनुपर्ने कारण नभएको उल्लेख गरेका हुन।
ज्ञवालीका अनुसार, एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भएमा सम्बन्धित संस्थाले वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) मा कारोबारको प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यस्तो कारोबारको विवरण कारोबार भएको १५ दिनभित्र थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट (टीटीआर) मार्फत पठाउनुपर्छ । बैंक निक्षेपका हकमा लामो समयदेखि लागू रहेको यस्तो प्रतिवेदनसम्बन्धी व्यवस्था शेयर कारोबारमा पनि पूर्णतः नयाँ नभएको उनको धारणा छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको मुख्य उद्देश्य अवैध रूपमा आर्जन गरेको रकमलाई वैध देखाउने कार्य रोक्नु, भ्रष्टाचार, ठगी तथा कर छलीबाट प्राप्त रकमको दुरुपयोग नियन्त्रण गर्नु र वित्तीय प्रणालीमा पारदर्शिता कायम गर्नु हो । यस्तो व्यवस्थाले वित्तीय अपराध नियन्त्रण गर्न तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
ज्ञवालीको विचारमा १० लाख रुपैयाँको सीमा कारोबारमा प्रतिबन्ध लगाउने व्यवस्था होइन । यो तोकिएको सीमाभन्दा बढीको कारोबारको विवरण सम्बन्धित निकायमा पु¥याउने र वित्तीय गतिविधिको निगरानी गर्ने व्यवस्थासँग सम्बन्धित छ । कारोबारको प्रकृति र जोखिमका आधारमा रकमको स्रोत, ग्राहकको पहिचान तथा आवश्यक कागजात मागिन सक्ने भए पनि सीमा नाघेकै आधारमा सबै कारोबारलाई अवैध वा शंकास्पद मान्न मिल्दैन ।
यद्यपि, यस्तो व्यवस्थाले लगानीकर्तालाई रकमको स्रोत खुल्ने कागजात सुरक्षित राख्नुपर्ने र कारोबारको विवरण स्पष्ट बनाउनुपर्ने आवश्यकता बढाउन सक्छ । सम्बन्धित संस्थाको अनुपालन लागत पनि बढ्न सक्ने देखिन्छ । नियमको गलत बुझाइका कारण वैध लगानीकर्ता अनावश्यक रूपमा त्रसित भएमा त्यसले शेयर बजारको कारोबारमा समेत असर पार्न सक्छ ।
ज्ञवालीले अवैध रूपमा आर्जन गरिएको सम्पत्तिमाथि निगरानी हुनु आवश्यक रहेको उल्लेख गर्दै नियमसंगत रूपमा कमाएको रकम लगानी गर्दा डराउनुपर्ने अवस्था नरहेको सन्देश दिएका छन् । लगानीकर्ताले आफ्नै बैंक खातामार्फत कारोबार गर्ने, रकमको वैध स्रोत खुल्ने प्रमाण सुरक्षित राख्ने र प्रतिवेदनको सीमा छल्न कारोबारलाई कृत्रिम रूपमा टुक्र्याउने कार्य नगर्ने विषयमा ध्यान दिनुपर्ने उनको विचार छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुँदा वित्तीय पारदर्शिता र जवाफदेहिता बढ्नुका साथै नेपालको वित्तीय प्रणालीप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने छ ।


