
रसुवा बाढीपीडितलाई युनाइटेड अजोडले १ करोड ४९ लाख दाबी भुक्तानी गर्याे
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिकताका साथ बीमा दाबी भुक्तानी गरिरहेको छ। कम्पनीले विभिन्न विधाका सातवटा बीमा दाबी फछ्र्यौट गर्दै हालसम्म १ करोड ४९ लाख ६१ हजार ७७५ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ।
बाढीबाट भएको क्षतिका लागि कम्पनीमा कुल ११८ वटा बीमा दाबी परेका छन्। ती दाबीको कुल अनुमानित रकम ८३ करोड ९६ लाख ९० हजार ३६ रुपैयाँ रहेको छ। बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा सम्पत्तिमा पुगेको क्षतिबापत ठूलो रकमको बीमा दायित्व सिर्जना भएको कम्पनीले जनाएको छ।
कम्पनीले प्राप्त दाबीको अध्ययन, क्षतिको मूल्यांकन र आवश्यक प्रक्रिया पूरा गर्दै सरल र सहज भुक्तानीलाई अगाडि बढाइरहेको बताएको छ। विपद्का कारण आर्थिक क्षति बेहोरेका बीमितका लागि समयमै बीमा रकम प्राप्त हुनु पुनःस्थापना तथा व्यवसायलाई सामान्य अवस्थामा फर्काउन महत्त्वपूर्ण हुने भएकाले प्राथमिकताका साथ यसमा काम गरिरहेको कम्पनीले जानकारी दिएको छ।


