
सेयर बजार र लगानी उपकरणका लागि कानुन सक्षम छ : निमित्त सीईओ सुवेदी
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलाधर सुवेदीले हाल कायम रहेको कानुनी व्यवस्थाले सेयर बजार र लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्।
अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धी छलफलमा उनले नेप्सेमा इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार हुँदै आएको जानकारी दिए। साथै, ओटीसी (ओभर द काउन्टर) बजारसमेत नेप्सेले सञ्चालन गरिरहेको उनले बताएका हुन् ।
सुवेदीले पछिल्लो समय मार्जिन ट्रेडिङ कारोबारसमेत सञ्चालनमा आएको र धेरै ब्रोकर कम्पनीले मार्जिन लेन्डिङ कारोबार शुरू गरिसकेको जानकारी दिए। लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको र त्यसबाट लगानीकर्ताले ट्रेडिङ सुविधा प्राप्त गरिरहेको उनको भनाइ छ। नेप्से आफ्नो भूमिकाप्रति निरन्तर प्रतिबद्ध रहेको छ । बजारका आवश्यकता पूरा गर्ने क्रममा उपलब्ध नियमावली, विनियमावली तथा कार्यविधिअनुसार काम भइरहेको समेत उनले स्पष्ट पारे ।
निमित्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने, ‘अहिले नियम तथा विनियमले व्यवस्था गरेका सम्पूर्ण वित्तीय उपकरणहरूको कारोबार गराउन नेप्से सक्षम छ। इक्विटी, म्युचुअल फण्ड, डिबेन्चर, ओटीसी बजार र मार्जिन कारोबारसमेत नेप्सेले सञ्चालन गरिरहेको छ। नयाँ वित्तीय उपकरण ल्याउने विषय नीति निर्माणसँग जोडिएकाले धितोपत्र बोर्ड वा अर्थ मन्त्रालयले बनाएका नीति हामी कार्यान्वयन गर्छौँ। बोर्डसँग समन्वय भइरहेकाले आगामी दिनमा आउने जुनसुकै नयाँ वित्तीय उपकरण कार्यान्वयन गर्न नेप्से प्रतिबद्ध छ।’
अनलाइन कारोबार प्रणालीको स्वामित्वबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अनलाइन कारोबार प्रणालीको स्वामित्व, सोर्स कोड र सम्पूर्ण सञ्चालनसम्बन्धी अधिकार नेप्सेकै हो। यो नेप्सेको सम्पत्ति हो। सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम बोलपत्र आह्वान गरेर प्रणालीको मर्मतसम्भारका लागि कम्पनी छनोट गरिएको हो। ब्रोकरहरूलाई प्रणालीमा लगइन गर्न युजरनेम र पासवर्ड उपलब्ध गराएर टीएमएससँग जोडिन पहुँच दिइने भएकाले टीएमएस सञ्चालन गर्ने जिम्मेवारी भने ब्रोकरहरूकै हो।’
नयाँ वित्तीय उपकरण ल्याउने विषय नीति निर्माणसँग सम्बन्धित रहेको स्पष्ट पार्दै उनले यस्ता उपकरणसम्बन्धी नीति मुख्यतः नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयले तय गर्ने भएकाले नेप्सेले सम्बन्धित निकायबाट बनेका नीतिलाई कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्दै आएको बताए। पछिल्लो समय नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिँदै उनले आगामी दिनमा जुनसुकै नयाँ उपकरण आए पनि त्यसलाई कार्यान्वयन गर्न नेप्से तयार रहेको बताए । मार्जिन लेन्डिङमा विभिन्न ब्रोकरबाट फरक–फरक मूल्य निर्धारण भएको विषयमा नेप्सेले निरीक्षण गर्ने सुवेदीले बताए। नेप्सेले तयार गरेको मार्जिन कारोबार कार्यविधिअनुसार ब्रोकरहरूले कारोबार गरिरहेका छन् वा छैनन् भन्ने विषयमा निरीक्षण आवश्यक रहेको उनको भनाई छ ।


