
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
काठमाडौं । हाल नेपालले १५२ देशसँग व्यापार गरिरहेको छ। १५२ मध्ये ३१ देशसँग मात्र व्यापार फाइदामा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। बाँकी १२१ देशसँग भने नेपालको व्यापार घाटामा रहेको छ। चालू आवमा नेपालको व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
सबैभन्दा बढी व्यापार घाटा छिमेकी राष्ट्र भारतसँग रहेको छ। भारतसँग २ महिनामा १ खर्ब ३५ अर्ब १९ करोड ५ लाख रुपैयाँ पुगेको छ। यस अवधि सम्म भारतबाट १ खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ। निर्यात भने मात्र ३८ अर्ब ३५ करोड २१ लाख रुपैयाँको भएको छ।
भारतबाट मुख्यतः २ महिनामा १७ अर्ब ४० करोड ८८ लाखको डिजेल आयात भएको छ। यता निर्याततर्फ भने नेपालबाट भटमासको तेल धेरै निर्यात भएको देखिन्छ। दुई महिनामा २० अर्ब ४२ करोड २ लाख रुपैयाँको ९ करोड ८४ लाख २४ हजार ६६८ किलो भटमासको तेल निर्यात भएको हो।
त्यस्तै चीनसँग ६५ अर्ब ५ करोड ३७ लाख रुपैयाँ व्यापार घाटा रहेको छ। चीनबाट ६५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको आयात भएको छ। निर्यात भने १२ करोड ३४ लाख ६२ हजार रुपैयाँको भएको हो।
यता, अर्जेन्टिनाबाट १८ अर्ब ७० करोड ५१ लाख रुपैयाँको आयात भएको छ। निर्यात भने ५ लाख ८८ हजार रुपैयाँको मात्र भएको छ। व्यापार घाटा भने १८ अर्ब ७० करोड ४५ लाख रुपैयाँ पुगेको छ। यस मुलुकबाट कच्चा भटमासको तेल धेरै आयात हुने गरेको देखिएको छ। २ महिनामा ११ करोड ५० लाख ४१ हजार ५६२ लिटर तेल आयात भएको छ। सो तेलको आयात मूल्य १७ अर्ब ४० करोड ८८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, घाटा मात्र नभएर नेपालको ३१ देशसँग व्यापार नाफामा रहेको छ। सबैभन्दा बढी नाफा जर्मनीसँग रहेको छ। यस मुलुकसँग १५ करोड ६५ लाख ३८ हजार रुपैयाँ नाफा रहेको छ। चालू आवको २ महिनामा ७१ करोड ६२ लाख ८६ हजार रुपैयाँको आयात हुँदा ८७ करोड २८ लाख २४ हजार रुपैयाँको निर्यात भएको छ।
डेनमार्कसँग १४ करोड ८० लाख ६५ हजार रुपैयाँ नाफा भएको छ। नेपालबाट डेनमार्कमा १७ करोड ५७ लाख ८९ हजार रुपैयाँको सामान निर्यात हुने गरेको छ। आयात भने २ करोड ७७ लाख २४ हजार रुपैयाँको भएको छ।
अस्ट्रियासँग ६ करोड ७४ लाख ७१ हजार रुपैयाँ व्यापार बचत भएको छ । अस्ट्रियामा १५ करोड ३२ लाख १४ हजार रुपैयाँको निर्यात हुँदा त्यहाँबाट ८ करोड ५७ लाख ४३ हजार रुपैयाँको वस्तु आयात भएको छ ।
नर्वेसँग ३ करोड ५७ लाख ४७ हजार, नाइजरसँग ३ करोड ८१ लाख ४३ हजार, आइसल्यान्डसँग १ करोड ४१ लाख र केन्यासँग १ करोड २१ लाख रुपैयाँ व्यापार नाफा भएको छ । फिनल्यान्डसँग १ करोड ६ लाख ९९ हजार, स्लोभाकियासँग ७६ लाख ६९ हजार, इराकसँग ६८ लाख ३९ हजार र नेदरल्यान्ड्ससँग ६६ लाख ५६ हजार रुपैयाँ व्यापार नाफा भएको तथ्यांकमा देखिन्छ ।
त्यस्तै जर्जियासँग ४९ लाख १६ हजार, माल्दिभ्ससँग ३७ लाख ७१ हजार, मंगोलियासँग ३५ लाख ७० हजार र साइप्रससँग २२ लाख ५१ हजार रुपैयाँ व्यापार नाफा भएको छ । लेबनानसँग १२ लाख ३७ हजार, किर्गिस्तानसँग १० लाख ३७ हजार, उज्बेकिस्तानसँग १० लाख ३२ हजार र फिजीसँग ७ लाख ४९ हजार रुपैयाँ व्यापार नाफा भएको छ ।
काजाकिस्तानसँग ७ लाख २२ हजार, एल साल्भाडोरसँग ६ लाख ९४ हजार, कोलम्बियासँग ३ लाख ६५ हजार, क्रोएसियासँग ३ लाख ६२ हजार र लिक्टेन्स्टाइनसँग ३ लाख ३२ हजार रुपैयाँ व्यापार नाफा भएको छ । बहामासँग ३ लाख रुपैयाँ, सिरियासँग १ लाख ४१ हजार, सोलोमन आइल्यान्ड्ससँग १ लाख १८ हजार, नामिबियासँग १ लाख ११ हजार र तुर्कमेनिस्तानसँग १ लाख ७ हजार रुपैयाँ व्यापार नाफा भएको छ । सियरा लियोनसँग भने ४८ हजार रुपैयाँको मात्र व्यापार नाफा देखिन्छ ।


