
पाटा नेपालको अध्यक्षमा नरेन्द्रदेव भट्ट
काठमाडौं । पाटा नेपाल च्याप्टरको अध्यक्षमा हेरिटेज टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक नरेन्द्रदेव भट्ट निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न पाटा नेपालको ४७औँ वार्षिक साधारणसभा तथा ५१औँ वार्षिकोत्सवबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्।
साधारणसभाले स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याललाई महासचिव र अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई कोषाध्यक्ष चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, सदस्यमा जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरे, बिजी क्याफेका कार्यकारी निर्देशक सुनिलबहादुर भट्टराई, पार्क भिलेज होटल एन्ड रिसोर्टकी बिक्री तथा बजार निर्देशक माया शाक्य, अफ द वाल ट्रेकिङकी प्रबन्ध निर्देशक सरिता लामा, मार्कोपोलो ट्राभल्सका प्रबन्ध निर्देशक सिद्धार्थविक्रम थापा र बनबास चितवनका प्रबन्ध निर्देशक बासुदेव ढुंगाना निर्वाचित भएका छन्।
हाइग्राउन्ड एड्भेन्चर नेपालका प्रमुख कार्यकारी अधिकृत दिनेश महर्जन, खुम्बिला होटलका कार्यकारी निर्देशक जन विश्वकर्मा, गो ट्राभल्स नेपालका अध्यक्ष सञ्जयभक्त माथेमा, दुसित थानी हिमालयन रिसोर्टका महाप्रबन्धक अङ्कित शर्मा, टेम्पल ट्री रिसोर्टका अध्यक्ष बसन्त गौतम, मेगा ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक प्रकाश लामा र द प्लाजाका महाप्रबन्धक सुमन महर्जन सदस्यमा निर्वाचित भएका छन्।
कार्यसमितिमा सार्वजनिक क्षेत्रबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रथम उपाध्यक्ष, नेपाल वायुसेवा निगमका बजार निर्देशक द्वितीय उपाध्यक्ष तथा पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।
नवनिर्वाचित अध्यक्ष भट्टले हालैको भोटेकोशी बाढीबाट प्रभावित समुदाय र पर्यटन गन्तव्यको पुनरुत्थानमा निजी तथा सार्वजनिक क्षेत्र मिलेर काम गर्नुपर्ने बताए। उनले पर्यटन क्षेत्रलाई थप सबल बनाउन पाटा, पाटा फाउन्डेसन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्ने बताएका छन्।


