
वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा भारतको सहज जित
काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेले पछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेटको सहज जित निकालेको छ । तिरुवनन्तपुरममा वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य भारतले ४१.४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।
भारतका लागि कोहली १ सय ३९ रनमा अविजित पारी खेले । त्यस्तै कप्तान गिलले पनि ११० रनको शतकीय पारी खेले । कोहलीले ८८ बलमा १० चौका र ९ छक्का प्रहार गरे । उनको यो एकदिवसिय करियरको ५५औँ शतक हो । शतकसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजार रन पनि पूरा गरेका छन् । लिस्ट ‘ए’ क्रिकेटमा भने कोहलीको शतक संख्या ६० पुगेको छ, जुन सचिन तेन्दुलकरको कीर्तिमानसँग बराबरी हो । गिलले १०८ बलमा १३ चौका र १ छक्कासहित ११० रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९५ रन बनाएको थियो । ओपनर जस्टिन ग्रिभ्सले १०१ रन बनाए । उनको यो ओडिआई करियरको पहिलो शतक हो । ग्रिभ्सले जोन क्याम्पबेलसँग पहिलो विकेटका लागि १३५ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई बलियो सुरुवात दिलाएका थिए । क्याम्पबेलले ६२ रन बनाए । तर, भारतका स्पिनर कुलदीप यादवले मध्यक्रममा लगातार विकेट निकाल्दै वेस्ट इन्डिजको रनगति रोकिदिए । कुलदीपले ४० रन खर्चेर ४ विकेट लिए । उनले वेस्ट इन्डिजका सुरुआती ५ मध्ये ४ विकेट आफ्नो नाममा लेखाए ।


