
गल्फ र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन ३ का लागि साझेदारी नवीकरण, स्पेसल एडिसनको लुब्रिकेन्ट बजारमा
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँगको साझेदारी नवीकरण गरेको छ। साझेदारीअन्तर्गत गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’का रूपमा रहनेछ।
काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा साझेदारी नवीकरणको घोषणा गरिएको हो। सोही अवसरमा जनकपुर बोल्ट्सको रङमा तयार पारिएको गल्फ प्राइड ४टी प्लस २०डब्ल्यू-५० को सीमित स्पेसल एडिसन प्याकसमेत सार्वजनिक गरिएको छ।
कम्पनीका अनुसार सिजन ३ को अभियान ‘गल्फ पावर्ड बोल्ट्स’ थिम अन्तर्गत सञ्चालन हुनेछ। यस अभियानमार्फत क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग थप प्रत्यक्ष रूपमा जोडिने लक्ष्य राखिएको छ।
सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सम्बन्ध ब्रान्ड देखाउनका लागि मात्र नभई एउटा टिमसँगै, मधेशको माटोसँगै, जित र हार दुवैमा उभिने नाता भएको बताए ।
त्यसैगरी जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले सधै साथ साथ उभिएकोमा नेपाल ल्युब आयल र गल्फप्रति आभार व्यक्त गरे ।
नेपाल ल्युब आयल लिमिटेडका डीजीएम दिवाकर मिश्रले गल्फले एनपीएल अवधिभर उपभोक्ता र खुद्रा बिक्रेता दुवैका लागि फरक र आकर्षक अनुभव सिर्जना गर्ने बताए ।
जनकपुर बोल्ट्सको पहिचान र रङलाई आधार बनाएर तयार गरिएको गल्फ प्राइड ४टी प्लस २०डब्ल्यू-५० को विशेष संस्करण सीमित अवधिका लागि बजारमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो प्याक २०८३ असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ।
विशेष संस्करणको बजार अभियानअन्तर्गत गल्फले ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। अभियान अवधिमा विशेष संस्करणको सबैभन्दा बढी बिक्री गर्ने खुद्रा विक्रेतालाई यस कार्यक्रममार्फत सम्मान गरिने कम्पनीले जनाएको छ।
एनपीएल सिजन ३ का क्रममा गल्फ र जनकपुर बोल्ट्सबीचको साझेदारीलाई डिजिटल प्लेटफर्म, म्याच-डे गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत विभिन्न उपभोक्तामुखी कार्यक्रमबाट थप विस्तार गरिने भएको छ।
नेपाल ल्युब आयल लिमिटेडले नेपालमा गल्फ लुब्रिकेन्ट्सको उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीका अनुसार बाराको अमलेखगञ्जस्थित प्लान्टबाट अटोमोटिभ तथा औद्योगिक लुब्रिकेन्ट र ट्रान्सफर्मर आयल उत्पादन हुँदै आएको छ। कम्पनीले ३५ भन्दा बढी थोक वितरक तथा ३ हजारभन्दा बढी खुद्रा विक्रेतामार्फत देशभर आफ्ना उत्पादन वितरण गर्दै आएको जनाएको छ।


