
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयन सम्बन्धी अवधारणा पत्र, २०८३ सार्वजनिक गरेको छ । बोर्डले एउटै कारोबार दिनभित्र धितोपत्र खरिद–बिक्री गरी सोही दिन स्थिति राफसाफ वा समापन गर्ने ‘इन्ट्राडे ट्रेडिङ’ प्रणालीको अवधारणा अघि सारिएको हो ।
प्रस्तावित अवधारणा पत्र अनुसार सुरुआती चरणमा ‘पहिले खरिद गरी पछि बिक्री गर्ने’ मोडेल मात्र लागू गरिने भएको छ । ‘पहिले बिक्री गरी पछि खरिद गर्ने’ अर्थात् आवरणयुक्त सर्ट सेलिङ तथा धितोपत्र सापटी र उधारो सम्बन्धी व्यवस्था भने आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार पूर्ण रूपमा तयार भएपछि मात्र विचार गरिनेछ । अन्तरदिवसीय कारोबारले बजारमा तरलता र कारोबारको गहिराइ बढाउने अपेक्षा गरिए पनि कम तरलता भएका धितोपत्रमा यसले मूल्य अस्थिरता र जोखिम बढाउन सक्ने देखिएको छ । प्रारम्भिक चरणमा सबै सूचीकृत धितोपत्रमा यो प्रणाली लागू नगरी निश्चित मापदण्ड र तरलताका आधारमा ‘योग्य धितोपत्र’ मात्र चयन गरिनेछ ।
त्यसैगरी लगानीकर्ताको सुरक्षाका लागि जोखिममा आधारित योग्यता निर्धारण गरी जोखिम प्रकटीकरण र अभिमुखीकरण अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । नेपालको बजारको आकार र क्षमतालाई मध्यनजर गर्दै ‘नेपाल इन्ट्राडे ट्रेडिङ मोडल’ प्रस्ताव गरिएको छ । यस मोडेल अन्तर्गत छुट्टै नयाँ निकाय स्थापना गर्नुको सट्टा सेबोन, नेप्से, सिडीएससी, धितोपत्र व्यवसायी (ब्रोकर) र बैंकिङ प्रणालीलाई प्रविधिमार्फत एकीकृत गरिने छ ।
Loading Viewer...


