
डाटा हबमा साइबर आक्रमण, ब्याकअप सुरक्षित रहेकाे दाबी
काठमाडौं । डाटा हबले ब्रोकहरुको टीएमएसमा साइबर आक्रमण भएको र आइतबार बिहान ४ बजेसम्मकको डाटा सुरक्षित रहेको जनाएको छ । डाटा हब र वाईकोका अनुसार आइतबार बिहान ४ बजेसम्मको डाटा सुरक्षित रहेको हो ।
साइबर आक्रमण भएको ३० घण्टा भन्दा बढी समय वितिसक्दा पनि समाधान नहुँदा सोमबारको कारोबार नै बन्द भएको छ । डाटा हब प्रालिमा असोज ४ गते बिहान साढे ५ बजेदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको सूचनामा भनेको छ । ‘ब्रोकर कम्पनीहरूको टीएमएस होस्ट गरिएको पूर्वाधारमा र्यान्समवेयर (साइबर) आक्रमण भएको छ । त्यो आक्रमण हुनु अघी अर्थात असोज ४ गते बिहान ४ बजेसम्मको ब्याकअपलाई सुरक्षित गरी अलग्गै राखिएको छ,’ डेटा हबले भनेको छ ।
र्यान्समवेयर अन्य जोडिएका नेटवर्क तथा प्रणालीमा समेत प्रभावित वा फैलिएको हुन सक्ने सम्भावना रहेकाले प्रभावित प्रणालीहरूलाई हालसम्म पुनः अनलाइनमा नल्याइएको पनि सूचनामा भनिएको छ । डेटा हबका अनुसार टिएमएस, नेप्सेको पूर्वाधार तथा अन्य सम्बन्धित प्रणालीसँग जोडिएको हुनाले, प्रणालीलाई पुनः अनलाइनमा ल्याउनुअघि फरेन्सिक विश्लेषण गरी आवश्यक सुधारात्मक तथा सुरक्षा उपायहरू लागू गर्न केही समय लाग्ने छ ।
वाईकोका अनु्सार डाटा हबबाट प्राप्त जानकारीअनुसार र्यान्समवेयर घटनाले टीएमएस, सीडीएससी सम्बन्धी प्रणाली, भुक्तानी गेटवे तथा अन्य अन्तरसम्बन्धित सेवासहित विभिन्न प्रणाली तथा सेवाहरू प्रभावित भएका छन् ।


