
नेप्सेको कारोबार बन्द,यस्तो छ कारण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आजको सेयर कारोबार स्थगित गरिएको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (स्टक ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हब प्रा.लि.’ मा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या उत्पन्न भएको थियो। समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन।
यस्तो अवस्थामा नियमित कारोबार सञ्चालन गर्दा नेप्सेको समग्र कारोबार प्रणालीमै क्षति पुग्न सक्ने जोखिम देखिएको र स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत कारोबार स्थगित गर्न निवेदन दिएको हुनाले कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरिएको नेप्सेले सूचनामार्फत जानकारी गराएको छ।


