
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको असोज २ गते बसेको सञ्चालन समितिको बैठकले असोज २८ गतेका लागि १८ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने छ । उक्त सभा बुटवलको रुपन्देहीस्थित होटल सेफ्रन सि.के. प्रालि. (हायात प्लेस) मा बिहान साढे ११ बजेदेखि सुरु हुने छ । त्यस्तै सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
बैंकले वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त रकममा नगद लाभांश तथा बोनस सेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ । त्यस्तै चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा सभामा पेस हुनेछ । बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्रको सम्बन्धित व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभामा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । साथै सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि वा थप गर्ने र सोअनुसार बैंकको नियमावली संशोधन गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा राखिएको छ । नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनका विषयमा कुनै फेरबदल वा निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता किताब असोज १३ गते बन्द रहनेछ । असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी भई मतदान गर्न तथा प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

