
रुस–युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रुस–युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ । पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिए । उनले यदि, कुनै देशले आफ्नो प्रभावको प्रयोग गरी युक्रेनलाई अझ बढी लचिलोपन देखाउन प्रोत्साहित गर्छ भने रुसले त्यसको स्वागत गर्ने बताए ।
रुसले शान्ति वार्ता पुनः सुरु गर्न आफू तयार रहेको तर त्यसका लागि पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रको बाँकी भागमा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्ने सर्त राखेको छ । युक्रेनले भने यस्ता सर्तहरूलाई अस्वीकार गर्दै आएको छ ।
यसै महिनाको सुरुमा पुटिनले पनि शान्ति सम्झौता हुने सम्भावना व्यक्त गरेका थिए । तर, युद्धको समाधान रुस र युक्रेन स्वयंले नै गर्नुपर्ने बताएका थिए ।


