
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल

काठमाडौं। सन् २०२६ को बालोन डी’ओरको प्रतिस्पर्धा यसपटक अझ रोमाञ्चक बन्ने संकेत देखिएको छ। विशेषगरी स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेबीचको दाबेदारीले चर्चा पाउन थालेको छ।
मुभिस्टारको कार्यक्रम ‘युनिभर्सो भाल्दानो’ का लागि दिएको अन्तर्वार्तामा यमलले बालोन डी’ओरका लागि आफूलाई मुख्य दाबेदारका रूपमा प्रस्तुत गरेका छन्। स्पेनको विश्वकप विजेता टोलीका सदस्य यमलसँगको उक्त अन्तर्वार्ता आगामी शुक्रबार सार्वजनिक हुने भए पनि त्यसका केही अंश यसअघि नै सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ।
स्पेनिस पत्रिका ‘स्पोर्ट’ ले सार्वजनिक गरेको यमलको भनाइअनुसार उनले आफू र एमबाप्पेलाई विश्वकै उत्कृष्ट दुई खेलाडीका रूपमा उल्लेख गरेका छन्। ‘म बालोन डी’ओर कसलाई दिन्छु? मलाई वास्तवमै लाग्छ, सम्भवतः दुई खेलाडी छन्, जो विश्वकै उत्कृष्ट हुन्। तर‚ यस वर्ष यो पुरस्कार पाउन म योग्य छु,’ यमलले भनेका छन्।
विश्वका उत्कृष्ट दुई खेलाडी को हुन्? भन्ने प्रश्नमा उनले जवाफ दिन हिच्किचाएनन्। ‘मेरो विचारमा किलियन एमबाप्पे र म उत्कृष्ट दुई खेलाडी हौं। खेल हेर्नेहरूले यो कुरा राम्ररी जान्दछन्,’ उनले भने। केही दिनअघि एमबाप्पेले पनि यस वर्ष बालोन डी’ओर जित्न आफू योग्य रहेको दाबी गरेका थिए। उनले यो पुरस्कार व्यक्तिगत भए पनि फुटबल टोलीगत खेल भएकाले टिमको सफलताको पनि महत्त्व हुने बताएका थिए।
‘बालोन डी’ओर फरक खेलाडीलाई दिइनुपर्छ भन्नेमा म सधैं विश्वास गर्छु। पक्कै पनि यसको एउटा टोलीगत पक्ष हुन्छ, जुन महत्त्वपूर्ण छ, किनकि फुटबल टोलीगत खेल हो। तर‚ यो व्यक्तिगत पुरस्कार हो,’ एमबाप्पेले भनेका थिए। यसअघि आफूलाई बालोन डी’ओरको हकदार बताएको भन्दै एमबाप्पेको आलोचना पनि भएको थियो। तर‚ उनले यस वर्ष पुरस्कार जित्ने आफ्नो दाबी दोहोर्याएका छन्।
‘मलाई विश्वास छ, यस वर्ष म यो पुरस्कार जित्न सक्छु। यो मेरो मुख्य लक्ष्यमध्ये एक हो र छोटो अवधिको लक्ष्य पनि हो,’ उनले भने। यस वर्षको बालोन डी’ओर समारोह अक्टोबर २६ मा बेलायतको राजधानी लन्डनस्थित प्यालेडियम थिएटरमा आयोजना हुँदैछ। पहिलो बालोन डी’ओर विजेता सर स्ट्यान्ली म्याथ्युजलाई सम्मान गर्न यसपटक लन्डनमा समारोह आयोजना गर्न लागिएको हो। पुरस्कारका लागि ३० खेलाडीको ‘सर्ट लिस्ट’ समेत सार्वजनिक भइसकेको छ।
बालोन डी’ओरको दाबेदारीमा व्यक्तिगत प्रदर्शनसँगै खेलाडीको टोलीगत सफलतालाई पनि महत्त्वपूर्ण मापदण्ड मानिन्छ। त्यस आधारमा यमल एमबाप्पेभन्दा केही अगाडि देखिन्छन्। दुवै खेलाडीले व्यक्तिगत रूपमा गोल र प्रभावशाली प्रदर्शन गरिरहेका छन्। तर‚ विश्वकपमा स्पेनले एमबाप्पेको फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो र अन्ततः उपाधिसमेत जितेको थियो।

