
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले ४ दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतले मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अर्याललाई पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले शुक्रबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल संलग्न रहेको आरोप छ ।
प्रहरीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीको आरोपअनुसार अनुसन्धान अघि बढिरहेको भए पनि अर्यालमाथि लागेको आरोप अदालतबाट पुष्टि हुन बाँकी छ।


