
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजना तथा २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत आयोजनामा क्षति पुगेको देखाएको हो ।
प्रतिवेदनअनुसार बाढीबाट ऊर्जा र सडक क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको छ । ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । बाढीबाट २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे, ५ मेगावाटको मैलुङ खोला, २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत केन्द्र, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५.६ मेगावाटको मिडल त्रिशूली गंगालगायतका आयोजनामा क्षति पुगेको छ ।
त्यस्तै, २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य आयोजनासमेत बाढीबाट प्रभावित भएका छन् । बाढीले आयोजनाका विद्युत् उत्पादन संरचना, पहुँचमार्ग, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पुर्याएको प्रतिवेदनले औंल्याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा ऊर्जा प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन ठूलो रकम आवश्यक पर्ने देखिएको हो ।
बाढीबाट प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकमध्ये अझै ९१७ जना सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ । बाढी गएको दुई साता पुग्न लाग्दासमेत ठूलो संख्यामा श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूको खोज उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न देशमा विज्ञ तथा प्राविधिकहरू र सम्बन्धित कम्पनीका प्राविधिक तथा विज्ञहरू समेत लागिरहेका छन् ।

