
ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस)का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ।
भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीको स्थलगत निरीक्षण गरेर फर्किएको युएनओपीएसको क्षेत्रीय निर्देशकसहितको टोलीसँग आज साँझ ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा मन्त्री श्रेष्ठले अन्तर मन्त्रालय समन्वय गरेर विनाशकारी बाढीबाट भएको क्षतिको मूल्यांकन गरिरहेको र खोज, उद्धार तथा राहतको कामलाई समेत द्रुत गतिमा सञ्चालन गरिरहेको बताए।
मन्त्री श्रेष्ठले जलवायु परिवर्तनसँग मध्यनजर गरी विकास निर्माण एकीकृत रुपमा योजना बनाएर अगाडि बढ्नुपर्ने र त्रिशूली करिडोरलाई पनि एकीकृत विकास योजनाअन्तर्गत पुनर्निर्माण गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको बताए। उनले जलस्रोत र जलविद्युत् परियोजना जलवायुमैत्री बनाउने योजनामा मन्त्रालय रहेको उल्लेख गरे।
‘संसारले नदेखेको विपत्ति नेपालले सामना गर्नुपर्यो, जलवायु परिवर्तनलाई मध्यनजर गरेर यसमा विभिन्न किसिमको विज्ञता, अनुभवको खाँचो छ, यस्तो विपत्तीमा संसारले नै विज्ञता दिनुपर्छ, संसारकै लागि पाठ हुनसक्छ, भोलिका दिनमा संसारले यो भोग्न सक्छ,’ मन्त्री श्रेष्ठले भने।
भेटमा युएनओपीएसका क्षेत्रीय निर्देशक नेट्जरले दिर्घकालीन एकीकृत विकासका लागि नेपाललाई सहयोग गर्ने बताए। ‘हाम्रो विज्ञता र अनुभव नेपालको एकीकृत विकास योजनामा जोड्छौँ, यसका लागि अझै विस्तृत छलफल सम्बन्धित निकायहरुसँग गर्ने छौँ,’ उनले भने।
त्रिशूली करिडोरको दिगो विकास योजनाका लागि अन्तरराष्ट्रिय सहयोगलाई कसरी एकीकृत रुपमा परिचालन गर्न सकिन्छ भनेर पनि आफूहरुले प्राविधिक सहयोग गर्ने उनको भनाइ थियो।
भेटमा युएनओपीएसका नेपालका लागि प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहु-देशीय निर्देशक चाल्र्स क्यालन, वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टा, एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय स्वास्थ्य, सुरक्षा, सामाजिक तथा वातावरणीय विशेषज्ञ रोजा बज्राचार्यलगायतको सहभागिता रहेको थियो।

