
जेन–जीको बलिदानको सम्मान गरौँ, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गरौँ: नेपाली काङ्ग्रेस

काठमाडौं । जेन–जी विद्रोह भएको आज एक वर्ष पूरा भएको छ । यस ऐतिहासिक आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण जेन–जी युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरका छन् । साथै, कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरका छन् ।
एक वर्षअघि जेन–जी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएका थिए । उनीहरूको आवाज केवल सरकार परिवर्तनका लागि थिएन । उनीहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी र अवसरसहितको नयाँ राजनीतिक संस्कार खोजेका थिए ।
तर २३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग र त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड तथा विध्वंसले मुलुकमा ठूलो जनधनको क्षति पुग्यो ।
यी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको छ । यद्यपि, प्रतिवेदनमा पनि केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाटै कैँची चलाइएको आशंका गर्ने ठाउँ देखिएको छ । भलै, यो प्रतिवेदन गौरीबहादुर कार्की आयोगको भन्दा विश्वसनीय छ ।
त्यसैले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजानुपर्छ । घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ ।
२३ भदौको अत्यधिक बल प्रयोगमा जिम्मेवार हुने जोसुकै हुन्, कानुनको दायरामा ल्याइनुपर्छ । त्यसैगरी २४ भदौको विध्वंस, आगजनी, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश र हिंसामा संलग्न तथा आन्दोलनमा घुसपैठ गरी त्यसलाई हिंसात्मक बनाउन भूमिका खेल्ने व्यक्ति वा समूहलाई पनि उन्मुक्ति दिनु हुँदैन ।
कसैलाई राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन मिल्दैन । राज्यशक्तिको दुरुपयोग गर्ने होस् वा आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने–सबै कारबाहीको दायरामा आउनुपर्छ । चाहे ती सत्ता शक्तिको नेतृत्वमै किन नहुन् । यो नेपाली कांग्रेसको स्पष्ट धारणा हो ।
आजको दिनमा शहिदहरूको बलिदानलाई सम्मान गर्दै घाइतेहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोगको सुनिश्चितता गर्न सरकारसँग आग्रह गर्दै जेनजी पुस्ताले चाहेको देश निर्माण गर्न आजको दिनले सदैव प्रेरित गरी रहोस् ।

