
इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन् । उनी जिल्ला अदालत काठमाडौंले मागेको ४० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका हुन् ।
पाँडेसहितका व्यक्तिविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । राज्यको स्वामित्वमा आइसकेको स्मार्ट सेलको सम्पत्ति बिक्री गरेको आरोपमा पाँडेमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको हो ।

