
असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको हो ।
क्यापिटलले सर्वसाधारणका लागि योजनाको इकाई निष्कासन प्रक्रिया अघि बढाएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको छ । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई योजना प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ ।
योजनामा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। यसअनुसार न्यूनतम १ हजार रुपैयाँ लगानीबाटै आवेदन दिन सकिनेछ । अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । क्यापिटलका अनुसार इकाई निष्कासन आगामी असोज १ गतेदेखि खुला हुनेछ । निष्कासन छिटोमा असोज ६ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको अवस्थामा ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

