
भोटेकोशी बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसका नेताहरुले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेका हुन्।
महामन्त्री पौडेलसहित पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराव चालिसे, प्रमुख समेतक वासना थापा, रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य लगायत नेताहरु अर्थमन्त्रालय पुगेका थिए। कांग्रेसले पार्टी नेताकार्यकर्ताबाट संकलन गरेर एकमुष्ट सहयोग रकम हस्तान्तरण गरेको हो। विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताए।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले सङ्कटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए। बाढी पहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। उनले भने, ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु।’
त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन समेत उनले माग गरेका छन्। राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री पौडेलले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

