
लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा रोहित पौडेलले अविजित २४ रन बनाए । त्यसअघि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए । साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समाना ३ ३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए भने शेर मल्लले १ विकेट लिए । यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूहविजेताको टुङ्गो लाग्नेछ ।

