
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख प्राप्त गर्ने भएको छ। अघिल्लो संस्करणको तुलनामा यस पटक विजेता टोलीको पुरस्कार राशि ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख पुरस्कार पाएको थियो। यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ।
एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ। यस पटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ।


