
२९ वटा कम्पनीको लाभांश घोषणा, सबैभन्दा धेरै गरिमा विकास बैंकको, म्युचुअल फन्डको प्रतिफल घट्यो

काठमाडौं । यो समय लाभांश घोषणाको हो । हालसम्म २९ वटा कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्नेमा धेरै म्युचुअल फण्ड रहेका छन् । हालसम्म तीन वाणिज्य बैंक, तीन विकास बैंक, दुई वटा हाइड्रोपावा र एउटा फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै नेपाल पूर्वाधार बैंक (निफ्रा) ले पनि आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेको छ ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंक रहेका छन् । त्यस्तै विकास बैंकमा कामना सेवा, गरिमा र साग्रिंला डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै लाभांश घोषणा गर्नेहरुमा आईसीएफसी फाइनान्स र मान्डू हाइड्रोपावर कम्पनी रहेका छन् । यी बाहेक अरु सबै १९ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये सबै भन्दा धेरै लाभांश गरिमा विकास बैंकले दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद रहेको छ ।
लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा सबै भन्दा धेरै लाभांश एभरेष्ट बैंक दिने छ । यो बैंकले १५ प्रतिशत नै लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने छ । जसमा १० प्रतिशत नगद र ५ प्रतिशत बोनस रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस र ४ प्रतिशत नगद रहेको छ । सानिमा बैंकले १० प्रतिशत नगद मात्रै लाभांश वितरण गर्ने छ ।
त्यस्तै विकास बैंकहरुमा कामना सेवाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन सबै नगद मात्रै हो । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस र ६.५२६ प्रतिशत नगद गरि १०.५३६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै आईसीएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद, मान्डू हाइड्रोपावरले १२ प्रतिशत नगद, सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७८९ नगद गरि कुल १५.७८९ प्रतिशत लाघांश घोषणा गरेको छ । त्यस्तै निफ्राले ५.२६ प्रतिशत नगदा लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।
म्युचुअल फन्डहरूको प्रतिफलमा गिरावट
सूचीकृत कम्पनीहरूले बोनस र नगद लाभांशको सम्मिश्रणमार्फत लगानीकर्तालाई राहत दिइरहँदा म्युचुअल फन्डहरूको प्रदर्शन भने निराशाजनक देखिएको छ। खुलामुखी र बन्दमुखी दुवै प्रकारका फन्डहरूको प्रतिफल अघिल्लो वर्षको तुलनामा खस्किएको छ । बन्दमुखी फन्डतर्फ अघिल्लो वर्ष २० प्रतिशत लाभांश बाँडेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले यस वर्ष ८ प्रतिशत मात्र प्रतिफल घोषणा गरेको छ । त्यस्तै सानिमा ग्रोथ फन्डले अघिल्लो वर्ष १५.७९ प्रतिशत प्रतिफल दिएको थियो भने यो वर्ष घटेर ५ प्रतिशतमा झरेको छ । त्यस्तै एनएमबी ५० फन्ड १५ प्रतिशतबाट ३.१५ प्रतिशतमा र कुमारी सबल योजना ९ प्रतिशतबाट २.९ प्रतिशतमा झरेका छन् । बन्दमुखी फन्डहरूमा हिमालयन ८०–२० ले १५ प्रतिशत लाभांश दिँदै केही राहत दिएको छ भने प्रभु स्मार्ट फन्डले लाभांश १० प्रतिशतबाट बढाएर १२ प्रतिशत पुर्याएको छ । प्रभु सेलेक्ट फन्डले लगातार दुवै वर्ष १२ प्रतिशत लाभांश कायम राखेको छ ।
खुलामुखी फन्डतर्फ एनएमबी सरल बचत फन्ड–ई ले मात्र आफ्नो प्रतिफल ४.२७ प्रतिशतबाट बढाएर ५.२५ प्रतिशत पुर्याउन सफल भएको छ । अर्कोतर्फ कुमारी सुनौलो लगानी योजनाको प्रतिफल ८.८८ प्रतिशतबाट घटेर ४.७ प्रतिशतमा सीमित भएको छ । त्यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको प्रतिफल पनि ८ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ ।

