
अष्ट्रेलियामा नेपाल ‘ए’ क्रिकेट टोलीको लगातार दोस्रो हार

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ । डार्विनमा शुक्रबार भएको खेलमा नेपाल ‘ए’ साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो ।
साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले २२ ओभर १ बलमा १२१ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का रशिद खानले ३७, मयन यादवले २०, दीपक डुम्रेले १८, कप्तान अनिलकुमार शाहले ११ रन बनाए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनायो । साउथ अस्ट्रेलियाका डाउट्जी होगेनबुजेमले १११ रन बनाए । नेपाल ‘ए’ का रशिद खानले २ तथा रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बलमे १÷१ विकेट लिए । यसअघि नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको थियो । अब नेपाल ‘ए’ ले अन्तिम अभ्यास खेलमा आइतवार न्युजिल्यान्ड ‘ए’ सँग खेल्नेछ ।

