
बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्राणालीबाट आज फेरि ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । २१ दिन अवधिको लागि राष्ट्र बैंकले उक्त निक्षेप संकनल गर्न लागेको हो ।
बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम खिच्न लागेको बताएको छ । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । उक्त रकमको साँवा र ब्याज माघ २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ ।

