
रसुवा बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने एलपी ग्यास उद्योग संघको प्रतिबद्धता

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघले विज्ञप्ति जारी गर्दै भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा तथा तनहुँलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ। बाढीका कारण नागरिकको ज्यान जानुका साथै घरबस्ती, उद्योग–व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना, यातायातका साधन तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको संघले जनाएको छ।
संघले बाढी तथा विपद्का कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकता दिनुपर्ने संघको भनाइ छ। आवश्यक खाद्यान्न, औषधि, खानेपानी तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबाट भइरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न संघ तयार रहेको जनाएको छ।
संघले प्रभावित क्षेत्रमा एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा समस्या आउन नदिन सम्बन्धित एलपी ग्यास उद्योगी, व्यवसायी तथा विक्रेतालाई आवश्यक समन्वय र सहकार्य गर्न आग्रहसमेत गरेको छ।
त्यस्तै, बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई संघले आह्वान गरेको छ।


