
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सेवा थप तीन दिन

काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित सेवाग्राहीलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ ।
यसअघि दुई दिनका लागि उपलब्ध गराउने निर्णय गरिएको उक्त सुविधा अब भदौ १२, १३ र १४ गतेसम्म निरन्तर रहने नेपाल टेलिकमले जनाएको छ । सो अवधिमा प्रभावित तथा आसपासका सेवाग्राहीले निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस प्रयोग गर्न सक्नेछन् ।
बाढीको जोखिम बढेपछि नेपाल टेलिकमले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान एसएमएसमार्फत अनुरोधसमेत गरेको थियो ।
विपद्का बेला प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
बाढीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको छ ।
विपद्को अवस्थामा सञ्चार सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राखिएको टेलिकमले जनाएको छ ।

