
आईपीओ निष्कासन गर्न लागेको काबेली हाइड्रोको लाभांश घोषणा

काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश करसहितको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयवासीसहित सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत मंसिर ८ गते बोर्डमा निवेदन दिएको हो । प्रस्तावित लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले भदौ २७ गते ५ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा बिहान १० बजे सभा सुरु हुनेछ ।
सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्नेछ । त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत सभाले टुंग्याउनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गतेदेखि सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा भदौ १८ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

