
पिपुल्स पावरको अवस्था दयनिय, नाफा २ करोड बढीले ऋणात्मक

काठमाडौं । पिपुल्स पावर लिमिटेड ठूलो नोक्सानीमा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड भन्दा बढीले नोक्सानीमा पुगेको हो ।
गत आवको असार मसान्तसम्मको अवधिमा यो कम्पनी २ करोड १७ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । जबकी अघिल्लो आवको सोही अवधिसम्ममा यो कम्पनी ३३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानीमा केही संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड ६३ लाख ३५ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष ८ करोड ९८ लाख ९० हजार रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ ।
५० प्रतिशत हकप्रद सेयर जारी गरेका कारण कम्पनीको चुक्ता पुँजीमा वृद्धि भएको छ । अघिल्लो वर्ष ६३ करोड २६ लाख रुपैयाँ रहेको चुक्ता पुँजी समीक्षा अवधिमा ९४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । पुँजी वृद्धिसँगै जगेडा कोष भने केही दबाबमा परेको छ । अघिल्लो वर्ष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको जगेडा कोष यस वर्ष ४ करोड ९ लाख ३१ हजार रुपैयाँले ऋणात्मक हुन पुगेको छ ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि २.२९ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १०२.५९ रुपैयाँ कायम भएको छ ।

