
शतप्रतिशत भन्दा बढीले बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको नाफा, इपीएस कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिसतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा शतप्रतिशतले नाफा बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेको थियो । बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि २१.५९ प्रतिशतले वृद्धि भई ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको देखिन्छ । यद्यपि व्यवसाय वृद्धिसँगै कम्पनीको कुल खर्च र दाबी भुक्तानीमा पनि वृद्धि भएको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ३ पैसा बढेर ७ रुपैयाँ ८२ पैसा पुगेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ । त्यस्तै अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ । यता कम्पनीको जीवन बीमाकोष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँबाट २७ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

