
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बराहताल गाउँपालिका–८, हुर्केस्थित शान्ति सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार, शनिबार दिउँसो सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा सुकेको सालको टोड्कामा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको हो ।
शनिबार प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले वन क्षेत्रमा गस्ती गरिरहेको थियो । सोही क्रममा सुकेको सालको टोड्कामा लुकाएर राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुक फेला परेपछि थप अनुसन्धान तथा घटनास्थलको मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरीले बरामद भएका तीनवटै भरुवा बन्दुक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

