
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबिच प्रतिस्पर्धा हुने भएको छ । उच्च अदालतहरूमध्ये सबैभन्दा धेरै सदस्य भएको सो बारको यही साउन ३० गते तय भएको निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबिच प्रतिस्पर्धा हुँदैछ ।
बृहत् प्रगतिशील तथा पेसागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमाक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोखरेलले नेतृत्व गर्दै छन् ।
सो बारमा ९ पदाधिकारीसहित १९ कार्यसमितिका लागि निर्वाचन हुने तय भएको हो । यही साउन ३० गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको छ ।
उक्त बारको निर्वाचनका प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाले शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिए । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने लागेको हो ।

