
एलपी ग्यास सहज बनाउन उद्योगी, विक्रेता र उपभोक्तालाई एलपी ग्यास संघको अपिल

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्न उद्योगी, विक्रेता तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको जनाएको छ ।
संघले मंगलबार जारी गरेको अपिलमा पछिल्लो समय एलपी ग्यासका लागि विभिन्न स्थानमा उपभोक्ताहरू लाइन बस्नुपर्ने र लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था सिर्जना भएकाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) ग्यास मात्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधार भइसकेको र ग्यास आयात साविकबमोजिम नियमित भए पनि १४.२ केजी क्षमताका सिलिन्डरमा ग्यास भर्न थालिएको संघले जनाएको छ ।
आयात नियमित भए पनि बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण विगत चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित खपतभन्दा कम आयात भएको संघको भनाइ छ । आवश्यकताभन्दा लामो समय आधा सिलिन्डर मात्र प्रयोग गरिएकाले अहिले उपभोक्ताले ग्यास नपाएको भन्दै सबै खाली सिलिन्डर एकैपटक भर्न खोज्दा समस्या उत्पन्न भएको संघले स्पष्ट पारेको छ ।
समस्या समाधानका लागि नेपाल आयल निगम, उद्योगी, विक्रेता र उपभोक्ताले आपसी समन्वय र सहकार्य गर्नुपर्ने संघले जनाएको छ । कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्ताले तत्काल लाइनमा नबसी विक्रेताले उपलब्ध गराएको ग्यास प्राथमिकताका आधारमा पारदर्शी र व्यवस्थित रूपमा लिन संघले आग्रह गरेको छ ।
त्यस्तै, उद्योगीहरूले उपभोक्तालाई ध्यानमा राख्दै पारदर्शी तथा व्यवस्थित रूपमा बजारमा ग्यास पठाउन र निगमले बजार सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्न संघले अनुरोध गरेको छ ।
सानो भूमिकाले ग्यास नपाएर भौतारिनुपरेका उपभोक्तालाई सहयोग गर्न सबै पक्ष इमानदार र कर्तव्यनिष्ठ भएर अघि बढे बजार सहज हुने संघको विश्वास छ । संघले ग्यासको बजार यथासक्य चाँडो सहज बनाउन सबै एलपी ग्यास उपभोक्तालाई सहयोग गर्न अपिल गरेको छ।


