
इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि

काठमाडौं । इजरायल र लेबनानबीचको सीमा तथा सुरक्षासम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्ट ४ देखि ६ सम्म इटालीको रोममा हुने अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ । इजरायल दक्षिणी लेबनानका दुई ‘पाइलट जोन’ बाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग वार्तामा प्राविधिक समूहहरूले इजरायल–लेबनान फ्रेमवर्क सम्झौताको पूर्ण कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् । उनका अनुसार छलफलमा ‘पाइलट जोन’ को कार्यान्वयन विस्तार गर्ने, बाँकी रहेका सबै सीमा विवाद समाधान गर्ने तथा दीर्घकालीन शान्ति र सुरक्षा सम्झौताका आधार तयार गर्ने विषय समावेश हुनेछन् ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत साता अमेरिकी मध्यस्थतामा हुने वार्ताको नयाँ चरणबारे पहिलोपटक सार्वजनिक जानकारी दिनुभएको थियो । इजरायल र इरान समर्थित हिजबुल्लाहबीच मार्च २ मा युद्ध सुरु भएपछि व्यापक मध्यपूर्व द्वन्द्वको पृष्ठभूमिमा इजरायल–लेबनान फ्रेमवर्क सम्झौता भएको थियो । उक्त सम्झौताले युद्ध अन्त्य, हिजबुल्लाहको निःशस्त्रीकरण, दक्षिणी लेबनानमा लेबनानी सेनाको पूर्ण तैनाती तथा इजरायली सेनाको दुई ‘पाइलट जोन’ बाट चरणबद्ध फिर्तालाई समेटेको छ ।
अमेरिकी अधिकारीका अनुसार प्रारम्भिक ‘पाइलट जोन’ को अनुभवका आधारमा कार्यान्वयन प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै त्यसलाई विस्तार गरिनेछ । यसैबीच, लेबनानी सेनाले आइतबार दक्षिणी क्षेत्रमा इजरायलले सैन्य कारबाही जारी राखेकाले फ्रेमवर्क सम्झौताअनुसार आफ्नो पूर्ण तैनाती रोकिएको जनाएको छ । बेरुतले युद्धको तीव्रता घटे पनि दक्षिणी लेबनानमा इजरायली आक्रमण र तोपखानाबाट गोलाबारी जारी रहेको जनाएको छ ।

