
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एकै वर्ष ५८५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाएका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर कुल ४,७९७ वटा सवारी दुर्घटना भएका छन्।
कार्यालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सवारी दुर्घटना, मृत्यु तथा घाइते हुनेहरूमा पुरुषको संख्या अत्यधिक रहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरूमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। रिपोर्ट अनुसार कुल दुर्घटनामध्ये ६८.७ प्रतिशत (३,२९५ वटा) दुर्घटना तीव्र गतिका कारण भएको कार्यलयका प्रमुख, प्रहरी उपरीक्षक निशान थापाले जानकारी दिए। यस्तै मादक पदार्थ सेवन (मापसे) बाट ६१३ वटा, चालकको असक्षमता वा लापरवाहीबाट ५३५ वटा, यान्त्रिक गडबडीका कारण ५३ वटा, जनावरका कारण २३ वटा र यात्रु तथा पैदलयात्रीको गल्तीका कारण ३७ वटा दुर्घटना भएको उनले जानकारी गराए ।
दुर्घटना ज्यान गुमाउने पुरुषको सङ्ख्या बढी
गत आवमा दुर्घटनाबाट ज्यान गुमाएका ५८५ जनामध्ये ४२४ जना पुरुष (७२.४८%), ११० जना महिला (१८.८०%), ३४ जना बालक (५.८१%) र १७ जना बालिका (२.९१%) रहेका छन्। त्यसैगरी दुर्घटनामा परी १,७९९ जना गम्भीर घाइते र ६,२५९ जना सामान्य घाइते भएका छन्, जसमा पनि पुरुषको संख्या नै बढी छ।
दुर्घटनामा संलग्न कुल ६,८२२ वटा सवारी साधनमध्ये ४,२८६ वटा (६२.८२%) मोटरसाइकल/स्कुटर रहेका छन्। त्यसपछि जिप/कार ६६६, टेम्पो ५०९, शारीरिक शक्तिले चल्ने सवारी ४९५, बस २१० र ट्रक/ट्रयाक्टर २०४ वटा दुर्घटनामा परेका छन्।
प्रदेशमा सडक सञ्जाल १५,७०६ किलोमिटर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९६ प्रतिशतले बढी हो। यस्तै प्रदेशमा कुल दर्ता सवारी साधनको संख्या १७,०५,०४९ पुगेको छ, जसमा ८५.८९ प्रतिशत (१४,६३,२०५ वटा) हिस्सा निजी मोटरसाइकल/स्कुटरको रहेको छ।
कारबाहीबाट साढे १३ करोड राजश्व संकलन
आर्थिक वर्ष २०८२/८३ मा नियम उल्लङ्घन गर्ने १,२०,०४८ वटा सवारी साधनलाई कारवाही गरी १३ करोड ५८ लाख ६,०६३ रुपैयाँ राजस्व संकलन गरिएको छ। गम्भीर नियम उल्लङ्घन गर्ने ९ जना चालकको लाइसेन्स निलम्बनको प्रक्रियामा रहेको र ३ जनाको निलम्बन भइसकेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले वर्षभरिमा १०,६६२ वटा जनचेतनामूलक कार्यक्रममार्फत ५ लाख ५ हजार भन्दा बढीलाई सचेत गराएको छ। जसमध्ये चालक-सहचालक लक्षित ७,४८६ वटा र विद्यार्थी लक्षित १,२५३ वटा कार्यक्रम सञ्चालन गरिएका छन्।
प्रदेशका ५३ स्थानमा ब्ल्याक स्पट पहिचान
साथै प्रदेशका ५३ वटा दुर्घटना जोखिम क्षेत्र (Black Spots) मा १३० वटा संकेत उपकरण राखिनुका साथै बाँकेका मुख्य चोकहरूमा ट्राफिक लाइट मर्मत तथा जडान गरी सञ्चालनमा ल्याइएको छ। तीव्र गति नियन्त्रण, मापसे चेकिङ र मोटरसाइकल चालकहरूलाई लक्षित गरी कडा नियम पालना गराउन सके मात्र दुर्घटना र जनधनको क्षति कम गर्न सकिने ट्राफिक प्रहरीको निष्कर्ष छ।

