
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदका लागि परिमार्जित नमुना बोलपत्र कागजात जारी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट) सम्बन्धी कागजात सार्वजनिक गरेको छ।
कार्यालयले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा गरिएको कानुनी व्यवस्थाअनुसार नमुना बोलपत्र सम्बन्धी कागजात संशोधन तथा परिमार्जन गरी लागू गरेको जनाएको छ।
कार्यालयका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार सचिवस्तरीय निर्णयबाट २०८३ साउन ६ गते नमुना बोलपत्र सम्बन्धी कागजात संशोधन तथा परिमार्जन गर्ने निर्णय गरिएको थियो।
पीपीएमओका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (३) को खण्ड (ग) मा भएको व्यवस्थाअनुसार सार्वजनिक निकाय, बोलपत्रदाता, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित सबै सरोकारवालाले बोलपत्रसम्बन्धी कागजात तयार गर्न र प्रयोग गर्न सहज हुने उद्देश्यले परिमार्जित नमुना बोलपत्र कागजात जारी गरिएको हो।
कार्यालयले परिमार्जित कागजातले सार्वजनिक खरिद प्रक्रियालाई थप स्पष्ट, एकरूप र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


