
सातामा दुई दिन बिदा पुनरावलोकनका गर्न गृहको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिने

काठमाडौं । सातामा दुई दिन बिदा पुनरावलोकनका गर्न कार्यदल गठन गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको मुख्य सचिव र सचिवहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले हप्तामा शनिवार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्न आवश्यक देखएकाले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक विदा पुनरावलोकन कार्यदल गठन गर्ने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।
बैठकले मन्त्रालयको कार्यजिम्मेवारी, वार्षिक नीति तथा कार्यक्रम, बजेटको प्रभावकारी कार्यान्वयन गरी मापनयोग्य सूचकहरू समेटिएको सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरूबीच हुने कार्यसम्पादन सम्झौताको मस्यौदा सबै मन्त्रालयले २०८३ श्रावण ८ गतेभित्र तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने समेत निर्णय गरकेो छ ।
यसैगरी चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुराउने खालका कानूनहरूलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।

