
प्रधानमन्त्री शाहले सार्वजनिक गरे चौमासिक प्रगति विवरण

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चार महिना पूरा भएपछि चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्। १३ चैत २०८२ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सोही नियमावली २०६५ को नियम ३ अनुसार यो विवरण ल्याएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार तोकिएको कानुनी प्रावधानबमोजिम नै यो प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको हो।
चौमासिक भनिए तापनि उक्त प्रतिवेदनमा वैशाख, जेठ र असार गरी तीन महिनाका कार्य विवरण मात्र समावेश छ। प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयको स्वरूप, काम-कर्तव्य, अधिकार, कर्मचारी विवरण तथा मुख्य उपलब्धिहरू समेटिएका छन्। यसैगरी, २०८३ साल वैशाख १ देखि असार मसान्तसम्म बसेका २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय र विषयगत समितिका ८ वटा बैठकबाट १२ वटा निर्णयहरू भएको उल्लेख छ। सोही अवधिमा नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ कार्यान्वयनमा ल्याइनुका साथै ‘शून्य बाँकी फाइल अभियान’का लागि मार्गदर्शन तयार गरी एकीकृत प्रगति विवरण बुझाउन सबै मन्त्रालय, निकाय, आयोग र स्थानीय तहमा पत्राचार गरिएको विवरणमा जनाइएको छ।
Loading Viewer...

