
चोरी पैठारीका जुत्ता–चप्पल बिक्री नगर्न विभागको चेतावनी

काठमाडौं। बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका फुटवेयर (जुत्ता, चप्पललगायत) भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको भन्ने उजुरी र गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले शनिबार अत्यन्त जरुरी सूचना जारी गर्दै यस्ता गैरकानूनी व्यापार–व्यवसाय तत्काल रोक्न तथा कानुनबमोजिम मात्रै उद्योग तथा व्यापार सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको हो।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ ले उत्पादकले उत्पादन गरेको वस्तुमा अनिवार्य रूपमा तोकिएबमोजिमको लेबल राख्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी दफा ८ अनुसार पैठारीकर्ताले कानुनले तोकेका सबै सर्त पूरा गरेर मात्र वस्तु आयात गर्नुपर्ने र दफा ११ अनुसार बिक्रेताले बिक्री गर्ने वस्तुको गुणस्तर तथा कानुनी दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको छ।
विभागले यी कानुनी व्यवस्थाले उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई कानुनले तोकेका दायित्व र सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
साथै, लेबलविहीन, नक्कली, कम गुणस्तरका वा चोरी पैठारी गरिएका फुटवेयरको उत्पादन, भण्डारण, ढुवानी तथा बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

