
एक्लै भए पनि पार्टी चलाउँछु- कुलमान घिसिङ, जनताको पहिलो रोजाइ उज्यालो नेपाल पार्टी बन्ने दाबी

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्नु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो निर्णय कुनै पनि अवस्थामा नदोहोरिने बताएका छन् । पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै घिसिङले उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा अघि बढ्ने र भविष्यमा कुनै पनि दलसँग मर्ज नहुने स्पष्ट पारे ।
विगतका कमजोरीबाट पाठ सिकेर उज्यालो नेपाल पार्टीको अस्तित्व जोगाउँदै सङ्गठन विस्तारमा केन्द्रित हुने बताए । उनले आवश्यक परे आफू एक्लै भए पनि पार्टीलाई अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले उल्लेखनीय सफलता हासिल गर्नेछ। त्यसपछि हुने सङ्घीय निर्वाचनमा पनि जनताको मुख्य रोजाइ हामी नै बन्नेछौँ।’
उनले उज्यालो नेपाल पार्टीलाई जिम्मेवार, अनुभवी र जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताए। पार्टीले अब देशव्यापी तीन महिने अभियान सञ्चालन गर्ने र हरेक पालिकामा पार्टीका प्रतिनिधि पुगेर जनताका समस्या बुझ्ने समेत बताए।

