
एआईको दौडमा चिनियाँ कम्पनीको नयाँ मोडल सार्वजनिक

काठमाडौं। एडभान्स आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अमेरिकाको एकल वर्चस्व अब सकिएको एक्सियोसमा प्रकाशित एक रिपोर्टले दाबी गरेको छ ।बेइजिङमा आधारित कम्पनी मुनसट एआईले बिहीबार किमि केथ्री नामको ठूलो मोडल सार्वजनिक गरेको छ । यो चिनियाँ मोडलले केही हप्ता अघिसम्म अग्रणी रहेका अमेरिकी मोडलहरूलाई निकै कम मूल्यमा भेट्टाएको उक्त रिपोर्टमा उल्लेख छ ।
यसको आगमनले डेभलपर्सहरूलाई आकर्षित गरेको छ भने सिलिकन भ्यालीलाई स्तब्ध बनाउँदै खेलको नियम नै परिवर्तन गरिदिएको छ ।
यो नयाँ मोडलले कोडिङ टेस्टहरूमा एन्थ्रोपिक कम्पनीको फेबल फाइभ र ओपनएआईको जीपीटी फाइभ पोइन्ट सिक्स सोललाई उछिनेको छ । यसले व्यापक टेक्स्ट र्याङ्किङमा एन्थ्रोपिकको ओपस फोर पोइन्ट एटलाई पनि उछिनेको छ ।
यति बलियो क्षमता भए पनि यसको मूल्य अमेरिकी मोडलहरू भन्दा ४० प्रतिशत कम रहेको छ । मुनसट कम्पनीले आउँदो जुलाई २७ मा किमिलाई ओपन–वेट मोडलको रूपमा सार्वजनिक गर्ने योजना बनाएको छ । यसले गर्दा विभिन्न कम्पनी र सरकारहरूले यसलाई आफ्नै सिस्टममा चलाउन पाउनेछन् ।
अहिलेसम्म अमेरिकी नीति निर्माताहरू चीन प्रविधिको दौडमा ६ देखि १२ महिना पछि रहेको भनेर ढुक्क थिए । गत अप्रिल महिनामा अमेरिकी सरकारको परीक्षण केन्द्रले चिनियाँ कम्पनी डीपसिकको मोडल अमेरिकी सिस्टम भन्दा आठ महिना पछि रहेको निष्कर्ष निकालेको थियो ।
तर किमिको आगमनले यो दुरी अनुमान गरेभन्दा धेरै छिटो घटेको देखाएको रिपार्टमा उल्लेख छ । एआई विश्लेषक किम आइसेनबर्गले भनेका छन्, ‘पूरा खेल नै परिवर्तन भएको छ र मलाई लाग्छ यसले कतिपयका लागि खतराको घण्टी बजाउनेछ ।’
यद्यपि अमेरिकी अग्रणी ल्याबहरूसँग हतियार सकिएका छैनन् र किमि मोडलमा अमेरिकी प्रविधिको प्रभाव हुनसक्छ । एन्थ्रोपिक कम्पनीले चिनियाँ ल्याबहरूमाथि अमेरिकी मोडलहरूबाट डाटा चोरेर आफ्ना सिस्टमहरू तालिम दिएको आरोप लगाएको छ ।
वासिङ्टनले कम्प्युटिङ पावरमा प्रतिबन्ध लगाए पनि चिनियाँ कम्पनीहरूले तस्करी नेटवर्क मार्फत एनभिडियाका प्रतिबन्धित चिप्सहरू प्राप्त गरेका छन् । यता ओपनएआई र एन्थ्रोपिक कम्पनीहरू पनि जीपीटी सिक्स र क्लाउड ओपस फाइभ जस्ता नयाँ सिस्टमहरू बनाउन तीव्र गतिमा लागिरहेका छन् ।

