

बीमा बुझाउँन प्राधिकरण पुग्यो सभापोखरी गाउँपालिका,स्थानीयले सोधे रुद्राक्षको बीमा हुन्छ ?




काठमाडौं । सभापोखरी गाउँपालिका शंखुवासभामा नेपाल बीमा प्राधिकरणले बीमा सचेना कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रममा जीवन बीमामा सरेण्डर गर्दा बोनस र बीमांक के हुनेदेखि आफ्ना मौलिका खेतीपातीको बीमा कसरी गर्न सकिन्छ ? भन्ने जिज्ञासा स्थानीयहरुले राखेका हुन् ।
सभापोखरी गाउँपालिकाका अध्यक्ष भिम बहादुर लिम्बुले आगामी दिनमा बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुसँग सहकार्य गरी बीमालाई अगाडी बढाउँने प्रतिवद्धता जाहेर गरेका छन् । उनले हालसम्म पालिकाको भवन समेतको बीमा नगरेको हुँदा आगामी दिनमा त्यसलाई बीमाको दायरामा ल्याउँने बताए ।
लिम्बुले आगामी दिनमा पालिकास्तरबाट विभिन्न बीमामा सहयोग गर्ने बताए । लिम्बुले कृषी बीमा, पशु बीमा, घरको बीमा लगायत सम्भव भएसम्म जीवन बीमामा समेत आफ्नो पूरै पालिकालाई सक्रिय बनाउँने भनाई व्यक्त गरे ।
सोही गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सो क्षेत्रमा अलैची तथा सुन्तला धेरै मात्रामा उत्पादन हुने भएकाले कृषी बीमाको समेत प्रचुर सम्भावना रहेको बताइन । उनले हाल पालिकाले कृषकहरुलाई अनुदान प्रदान गर्दै आएको समेत बताएकी छिन् । हालसम्म फर्म दर्ता तथा नविकरण मात्रै हेर्ने गरिएको कार्यक्रममा जानकारी दिइयो ।
बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनले कृषिमा पालिका स्तरमा अनुदान प्रदान गर्दा कृषकलाई भावितव्य तथा विपदमा राहातको आवश्यकता हुने र त्यसका लागि बीमाको माध्यम अपनाउँनु पर्ने बताएका छन् । उप–निर्देशक महर्जनले बीमितलाई बीमा सम्बन्धि जानकारी लिएर बीमामा सहभागी हुन समेत आग्रह गरेका छन् ।
रुद्राक्षको बीमालेख हुन्छ ?
कार्यक्रममा बीमा गरिसकेपछि पनि दाबी भुक्तानी समयमा नपाइनका पछाडी रहेका कारणहरु स्थानीयले सोधेका थिए । त्यसरी नै, जीवन बीमामा केही वर्ष किस्ता बुझाएपछि बाँकी रहेका वर्षमा अरु पैसा तिर्न नसके पहिले तिरेका रकम र आफ्नो बीमांक तथा बोनस के हुन्छ भन्ने स्थानियको प्रश्न थियो ।
त्यस्तै, अर्को रोचक प्रसंग भनेको स्थानीयहरुले आफूहरुले रुद्राक्षको बीमालेख (बीमा पोलिसी) छ, छैन जान्न चाहेको र रुद्राक्षको बीमा गर्न चाहे के गर्नु पर्छ भन्ने लगायतका प्रश्नहरु सोधेका थिए । यता बीमा प्राधिकरणले पालिकाको माग भएको हुँदा सोही अनुसार बीमालेखको निर्माण अघि बढाउँने बताएको छ । त्यस्तै दाबी समयमा नपाउँदा प्राधिकरणमा उजूरी गर्न सकिने तथा आफूले खरिद गर्ने बीमाको बारेमा बीमा गरेपछि मात्र नभई बीमा गर्नु पूर्व पनि पूर्ण जानकारी लिएर मात्र बीमा गर्न, गराउँन अपरिहार्य रहेको कार्यक्रममा स्पष्ट पारियो ।
सोही कार्यक्रमको संचालन प्राधिकरणका सहायक–निर्देशक सचिन राईले गरेका हुन् । प्राधिकरणका सहायक-प्रथम निकेश लालकर्णले स्वागत मन्तव्य दिएका थिए ।