
पुँजी बजार जोगाउन लगानीकर्ता संघको आग्रह, सुधार नभए सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल सेयरधनी संघले सेयर बजारमा आएको निरन्तर गिरावटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार र नियामक निकायलाई तत्काल सुधारका कदम चाल्न माग गरेको छ । संघले नयाँ सरकार गठन पश्चात पनि बजार ओरालो लाग्ने क्रम नरोकिएको र लगानीकर्ताहरू ठूलो आर्थिक जोखिममा परेको उल्लेख गरेको छ ।
सरकार गठन हुँदा करिब २९५० को हाराहारीमा रहेको नेप्से परिसूचक अहिले घटेर २५७० को आसपासमा खुम्चिएको छ । यस अवधिमा आम लगानीकर्ताले ६ खर्ब रुपैयाँभन्दा बढी पुँजी गुमाइसकेका छन् । जुन रकम देशको वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी हुन आउने विज्ञप्तिमा दाबी गरिएको छ ।
दोस्रो बजारमा लगानीकर्ताहरू चरम निराशामा रहेको अवस्थालाई मध्यनजर गर्दै संघले अर्थमन्त्रीलाई तत्काल बजारसँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरी कार्ययोजना बनाउन र समाधानका उपायहरू खोज्न हार्दिक अनुरोध गरेको छ। नीतिगत सुधारहरू तत्काल गरी लगानीकर्ताको विश्वास कायम राख्न संघको जोड छ ।
साउन १ गतेदेखि नयाँ करका दरहरू लागू हुने तयारी भइरहँदा बजार जोगाउने उपकरणहरू पनि सोही दिनदेखि लागू हुनुपर्ने संघले बताएको छ । संस्थागत लगानीकर्तालाई सहज रूपमा दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाइनुपर्ने र गैर–आवासीय नेपाली नागरिकहरूलाई दोस्रो बजारमा ल्याउने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने मागहरु राखेका छन् ।
“नेपालको पुँजी बजारमा नेपाली लगानीकर्ताहरूको भरोसा टुट्न नदिन अर्थमन्त्री, धितोपत्र बोर्ड र नियामक निकायले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ,’’ संघका अध्यक्ष घनश्याम पाण्डेले भने । संघले सरकार र नियामक निकायले तत्काल सम्बोधन नगरे लगानीकर्ताको धैर्यताको बाँध टुट्ने र आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ । अर्कोतर्फ लगानीकर्ताको अर्को समूह पनि शेयर बजार सुधारको कामलाई द्रुतता दिनुपर्ने दवाव दिन बोर्डमा पुगेको छ ।

