
काठमाडौंसहित ४४ जिल्लामा बाढीको जोखिम, चितवनसहित पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकासहित देशका ४४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बाढी पूर्वानुमानअनुसार काठमाडौं, ललितपुर र भक्तपुरसहित ३९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ। यस्तै, चितवनसहित पाँच जिल्लामा उच्च जोखिम रहने आकलन गरिएको छ।
लगातारको वर्षासँगै नदी, खोलानाला र साना जलाधार क्षेत्रमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले विशेषगरी साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासनले जारी गर्ने सूचना तथा सतर्कताका उपायहरू पालना गर्न अनुरोध गरेको छ।
बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लम्जुङ, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम साथै चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।’

