
गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

काठमाडौँ । जेनजी आन्दोलनका नेता रवि किरण हमालले गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्युले नेपालमा बढ्दो बेरोजगारी, युवाको निराशा र राज्यप्रतिको जनविश्वासबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।
गणेश नेपालीका आफन्तलाई भेट्न वीर अस्पताल पुगेका हमालले त्यही क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएका भनी परिचय दिएका व्यक्तिहरूले परिवारलाई “छिट्टै शव बुझ्नुहोस्, सहमतिमा आउनुहोस्” भन्दै दबाब दिएको कुरा आफूले प्रत्यक्ष सुनेको दाबी गरेका छन्। उनले यस्तो व्यवहार अत्यन्त निन्दनीय, अमानवीय र पीडित परिवारमाथिको अनुचित दबाब भएको बताएका छन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारमाथि कुनै पनि प्रकारको दबाब नदिन उनले सरकारसँग माग गरेका छन्।
हमालले नेपालको सबैभन्दा ठूलो राष्ट्रिय संकट बेरोजगारी भएको उल्लेख गर्दै लाखौँ युवा रोजगारीका लागि विदेशिन बाध्य भएको र देशभित्र रहेका युवाहरू बेरोजगारी तथा भविष्यप्रतिको अन्योलसँग संघर्ष गरिरहेको बताएका छन्।
उनले सरकारको वैधता प्रतिनिधिसभामा रहेको सिटको संख्याले होइन, जनताको जीवनमा आएको परिवर्तनले निर्धारण हुने जिकिर गरेका छन्। “कति युवाले रोजगारी पाए, कति नागरिकले न्याय र सुशासनको अनुभूति गरे, कति परिवारको जीवनस्तर सुधारियो भन्ने आधारमै सरकारको मूल्याङ्कन हुनुपर्छ,” उनले बताएका छन्।
हमालका अनुसार जनताको आवाज नसुन्ने, असन्तुष्टिलाई दमनमार्फत नियन्त्रण गर्न खोज्ने र राज्यका संस्थाहरूलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ। गणेश नेपालीको मृत्यु केवल एउटा व्यक्तिगत दुःखद घटना नभई युवामा बढ्दो निराशा र राज्यप्रतिको अविश्वासको गम्भीर संकेत भएको उनको भनाइ छ।
उनले सरकारलाई रोजगारी, सुशासन र न्यायलाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गर्दै भने, “देश दण्डले होइन, न्यायले चल्छ। सत्ता जनताभन्दा ठूलो हुँदैन। जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता भने गुमाउँछ।”

