
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विजय जैरु भारी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
प्रतिनिधिसभा निर्वाचनअघि पार्टीले सञ्चालन गरेको प्राइमरी निर्वाचनमा उत्कृष्ट मत प्राप्त गरे पनि उनी अन्तिम उम्मेदवारको सूचीमा पर्न सकेका थिएनन्। त्यसबेला उनको लोकप्रियता र योगदानका बाबजुद अवसर नपाएको भन्दै पार्टीभित्र र बाहिर व्यापक चर्चा भएको थियो।
महाधिवेशनमा भने प्रतिनिधिहरूले जैरुमाथि बलियो विश्वास व्यक्त गर्दै उनलाई उल्लेखनीय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित गरेका छन्। उनको विजयलाई पार्टीभित्र संगठन निर्माणमा गरेको योगदान, निरन्तर सक्रियता र कार्यकर्तामाझ रहेको लोकप्रियताको सम्मानका रूपमा हेरिएको छ।
राजनीतिक वृत्तमा यो नतिजालाई जैरुको प्रभाव अझै मजबुत रहेको संकेतका रूपमा विश्लेषण गरिएको छ। महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनी अब रास्वपाको नीति निर्माण, संगठन सुदृढीकरण र आगामी राजनीतिक यात्रामा थप सक्रिय भूमिकामा रहने अपेक्षा गरिएको छ।

