
राष्ट्रिय जीवन कम्पनीको नयाँ बोनसदर घोषणा,कुन योजनामा कति ?

राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको आर्थिक स्थिति र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्क प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०८२ पुस २९ गते स्वीकृत भएपछि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) सबै किसिमका जीवन बीमालेखहरूका लागि आर्थिक वर्ष २०८३/८४ को प्रतिवर्ष प्रतिहजार बीमाङ्कका आधारमा यो नयाँ बोनसदर निर्धारण गरेको हो।
कम्पनीले मुनाफामा सरिक हुने आफ्ना विभिन्न बीमा योजनाहरूका लागि समान प्रतिहजार ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
यस अन्तर्गत सावधिक जीवन बीमा (१), जीवन सुरक्षा (५), बच्चाको शिक्षा तथा विवाह (३), बाल समूह (६), सामूहिक सावधिक जीवन बीमा (जी) र राष्ट्रसेवक सावधिक जीवन बीमा (आरएसके) योजनाहरूमा ० देखि ९ वर्ष र ३० वर्ष वा सोभन्दा माथिका सबै अवधिका लागि ५० रुपैयाँ बोनस तोकिएको छ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक बीमा (७) योजनाको १५ देखि २५ वर्षसम्मको अवधि तथा संयुक्त जीवन योजना (९), जीवन सिन्धु (२) र बात्सल्य (८) बीमा योजनाका सबै अवधिका लागि पनि प्रतिहजार ५० रुपैयाँ नै बोनसदर कायम गरिएको छ। कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि यही दर नै अन्तरिम बोनसदरका रूपमा लागू रहनेसमेत स्पष्ट पारिएको छ।

