
एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व जम्मा गरेको बताए ।
रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले तीन करोड पाँच लाख ६३ हजार ३२१ रुपैयाँ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले एक करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताए ।
कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ । सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख रुपैयाँ बराबर सवारीसाधन कर जम्मा भएको थियो ।
सुर्खेतले २१ करोड ५६ लाख ९३ हजार रुपैयाँ, चौरजहारीले दुई करोड ६६ लाख ५१ हजार रुपैयाँ र जुम्लाले ७३ लाख ६५ हजार रुपैयाँ सङ्कलन गरेका छन् ।

