
कक्षा १२ को नतिजा पुनः परीक्षण गर्न र निःशुल्क रिटोटलिङको व्यवस्था गर्न शिक्षामन्त्रीलाई रवि किरण हमालको आग्रह

काठमाडौं । जेनजी अगुवा तथा युवा अभियन्ता ले कक्षा १२ को नतिजासम्बन्धी विद्यार्थीहरूले उठाएका गुनासा र प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। शिक्षामन्त्रीलाई पत्र लेख्दै हमालले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजाको निष्पक्ष, पारदर्शी र प्राविधिक पुनः परीक्षण गर्न माग गरेका छन्।
उनले मूल्याङ्कन तथा नतिजा प्रकाशन प्रक्रियामा कुनै प्रकारको त्रुटि, लापरवाही वा अनियमितता भएको भए त्यसको स्वतन्त्र छानबिन गरी आवश्यक कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। पत्रमा विद्यार्थीहरूले उठाएका जायज माग तथा गुनासाहरूलाई तत्काल सम्बोधन गर्न र नतिजाप्रति चित्त नबुझेका विद्यार्थीहरूका लागि रिटोटलिङ (पुनःजोड) प्रक्रिया निःशुल्क गर्न विशेष आग्रह गरिएको छ।
हमालले कक्षा १२ को परीक्षा विद्यार्थीहरूको उच्च शिक्षा र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण शैक्षिक मूल्याङ्कन भएकाले यससम्बन्धी कुनै पनि विवाद वा शंकालाई पारदर्शी र विश्वसनीय ढङ्गले समाधान गर्नुपर्ने बताएका छन्। उनले परीक्षा, मूल्याङ्कन तथा नतिजा व्यवस्थापन प्रणालीमा आवश्यक सुधार गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन सुधारका कदम चाल्न समेत सरकारसँग आग्रह गरेका छन्।
“विद्यार्थीहरूको मेहनत, भविष्य र आत्मविश्वाससँग जोडिएको विषय भएकाले राज्यले उनीहरूको आवाज सुन्नु र न्यायपूर्ण समाधान दिनु आवश्यक छ,” हमालले बताएका छन्।

